Share |

'छड्के'ले मार्ला फड्के ?

काठमाडौं । सुष्त बनेको नेपाली सिनेमा बजार चलचित्र 'छड्के' रिलिज भएकै दिन एकाएक तातेको छ । ग्याङस्टार यो सिनेमाले राजधानीका मल्टीप्लेक्स हलहरुमा रिलिजको अघिल्लो दिन नै बुकिङ फुल गरेको थियो । सोचेभन्दा निकै राम्रो व्यापार गर्ने संकेत पहिलो दिनको दर्शक भीडले देखाएको निर्माता माधव वाग्लेले बताए ।

यद्यपि पहिलो दिन हलहरुमा देखिएको दर्शक भीडको गति उही रहन्छ वा रहँदैन त्यसले सिनेमाको व्यापार निर्धारण गर्नेछ । कतिपयले 'लुट'कै र्शैलीमा 'छड्के'ले व्यापार गर्ने आंकलन समेत गरेका छन् । 'लुट' र 'छड्के'को लोकपि्रयता भने फरक छ । 'लुट'ले रिलिजको शुरुवातीमा औसत दर्शक बटुलेको थियो भने 'छड्के'ले ओइरो नै लगाएको छ । माउथ पब्लिसिटी, सामाजिक सञ्जालमा भएको प्रचारले 'लुट'का दर्शक क्रमशः बढेका थिए ।

तर 'छड्के'ले पहिलो दिन नै दर्शक बटुलेको छ । धेरै सिनेमाका दर्शक पहिलो दिन आकषिर्त भएर क्रमशः पातलिंदै जान्छन् । त्यसैले पनि 'छड्के'को वास्तविक फड्को कति टाढासम्म र प्रभावकारी हुन्छ भन्न केही दिन कुर्नैपर्छ । वाग्लेका अनुसार राजधानीका क्यूएफएक्स हलमा १८, बिग मुभिजमा १२, एपक्युमा १३ शोमा 'छड्के' हाउसफुल भएको छ ।

गोपीकृष्ण हलमा दर्शकको भीड बढेपछि हिन्दी सिनेमाको ठाउँमा 'छड्के' देखाउनुपर्‍यो । राजधानी बाहिरका हलमा समेत उत्तिकै दर्शकको चाप रहेको वाग्लेले जानकारी दिए । 'शुरुवाती व्यापार राम्रो छ,' उनले भने, 'आइतबारसम्मको स्थितिले फिल्मको व्यापार कति हुन्छ भन्ने थाहा हुनेछ ।'

निगम श्रेष्ठले निर्देशन गरेको यो सिनेमामा अधिकांश 'लुट'कै कलाकारको अभिनय रहेको छ । सौगात मल्ल, दयाहाङ राई, नम्रता श्रेष्ड, अर्पण थापा लगायतका कलाकारको अभिनय रहेको छ ।
'लुट'मा लगानी गरेका माधवले 'छड्के' नरेन्द्र महर्जनसँग मिलेर बनाएका हुन् । निरन्तर खस्किरहेको नेपाली सिनेमा उद्योगलाई 'छड्के'ले कतारित छड्काउने हो ? केही दिनसम्म सिनेमा हलहरुमा देखिने दर्शकको संख्याले बताउनेछ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

नाम:
इमेल:
प्रतिक्रिया:
कोड: verification image, type it in the box