बल्ल जागे कलाकार, तर नवप्रवेशी नगन्य
केही दिनअघि नायिकाद्धय माल्भिका सुब्बा, नम्रता श्रेष्ठ यस्तो र्यालीमा व्यक्तिगत रुपमा सहभागी भएपनि संस्थागत पहल भएको थिएन । २० पुसको विहान भने नेपाल महिला चलचित्रकर्मी मञ्च र नेपाल कलाकार मञ्चको आयोजनामा डेढ दर्जन फिल्मी कलाकारहरु प्रधानमन्त्री निवास बालुवाटरमा धर्ना कस्न पुगे ।
विदेशबाट फर्किएकी एक महिला सरकारी अधिकारीबाटै बलात्कृत भएपछि लुटिएको खबर सार्वजनिक भएपछि महिला अधिकारवादीहरुले विरोध प्रर्दन गरिरहेका छन् । घटना सार्वजनिक भएपछि मात्रै मुलुकका विभिन्न भागमा आधा दर्जनभन्दा बढी महिला तथा बालिका बलात्कारको शिकार बनेको खबर प्रकाशमा आइसकेको छ ।
प्रहरीको तथ्यांकले हरेक २० घण्टामा एक महिलाको बलत्कार हुने गरेको देखाउँछ । महिलामाथि हुने यौन हिंसा बढिरहेकोमा त्यसलाई रोक्न सरकारले दोषीमाथि कडा कारबाहीका माग राख्दै कलाकारहरु प्रदर्शनमा उत्रिएका हुन् ।
ढिलै भएपनि महिला हिंसाविरोधी आन्दोलनमा चलचित्रकर्मीहरुले चासो त देखाएका छन् । तर विडम्बना विरोधमा संलग्नहरु अधिकांश पुराना कलाकार मात्रै छन् । नयाँ कलाकारको उपस्थिति न्यून देखिएको छ ।
धर्नामा मौसमी मल्ल, वसुन्धरा भुषाल, लक्ष्मी गिरी, मितिला शर्मा, रमेश उप्रेती, आकाश अधिकारी, नन्दिता केसी, नवल खड्का उपस्थिति भएका थिए । नयाँ पुस्ताका कलाकारमा सुब्बासहित, सुमिना घिमिरे, ऋचासिंह ठकुरी सहभागी थिए । सिनेमामा भर्खरै पाइला टेकेका कलाकारहरुको उपस्थिति भने देखिएन । विहान ९ देखि ११ बजेसम्म धर्ना दिइएको थियो ।




