रेखा अब 'बिज्नेस वमेन'
अपवादको रुपमा नायिका रेखा थापा लामो समयदेखि कलिउडमा 'हट' पोजिसनमै छिन् । तर अब भने उनलाई आफ्नो हट पोजिसन लामो समय नटिक्ला कि भन्ने डर पस्न थालेजस्तो छ । त्यसैले आफ्नो भविष्य सुरक्षित पार्न उनी व्यापार गर्ने सोचमा पुगेकी छिन् ।
आफ्नो व्यवसाय समेत चलचित्र सम्बन्धी नै हुने उनले सार्वजनिक गरेकी छिन् । व्यापार कहिलेदेखि शुरु गर्ने समय भने तय भइनसकेको रेखाको भनाइ छ । 'भर्खर सोच बनाएकी छु अब चाँडै शुरु गर्नुपर्ला,' उनले भनिन् ।
एकदशकदेखि नेपाली कलिउडमा जमेकी नायिका किन एकाएक व्यापारी बन्ने मुडमा पुगिन् ? कतै अब जवानीसँगै करियर पनि नजम्ने डर नै त होइन ? कला र उमेरबीच त्यस्तो के सम्बन्ध छ जसले पेशा नै परिवर्तन गर्न बाध्य बनाउँछ ? यद्यपि व्यापार गरेपनि फिल्ममा अभिनय गर्न भने छनोड्ने रेखाको अडान छ ।




