Share |

किन यस्तो गरे ज्ञानेन्द्रले ?

काठमाडौं । नायिका जेसिका खड्काले आत्माहत्या गरेको एक महिना लगत्तै अर्का एकजना फिल्म निर्देशकले समेत आत्माहत्याको प्रयास गरेका छन् । निर्देशक ज्ञानेन्द्र देउजाले रेडबुलमा विष मिसाएर पिएको प्रहरीले जनाएको छ ।

उनको स्वास्थ्य अवस्था सुधारोन्मुख रहेको अस्पतालले जनाएको छ । तर ७२ घण्टासममको अवस्था हेरेपछि मात्रै यक्किन अवस्था भन्न सकिने अस्पताल स्रोतले बतायो । अचेत अवस्थामा प्रहरीले भेटेपछि उनलाई सोमार जोरपाटीस्थित नेपाल मेडिकल कलेज पुर्‍याइएको थियो ।

कसैले निराश कुरा गर्दा समेत जीवनलाई आशावादी हुन सिकाउने हिम्मतिला मानिने देउजा आफैंले किन मृत्युको बाटो रोजे भन्ने खुल्न सकेको छैन । यद्यपि क्यासिनोमा कमाएको पैसा हारेपछि उनले आत्माहत्याको प्रयास गरेको बताइन्छ । तर यसको स्वतन्त्र पुष्टि हुन सकेको छैन ।

देउजा उपचारकै क्रममा रहेकाले प्रहरीले समेत अनुसन्धानलाई अघि नबढाएको महानगरीय प्रहरी वृत्त बौद्धका प्रहरी नायब उपरीक्षक श्याम गौतमले बताए ।

राष्ट्रबैंकका सहायक निर्देशक समेत हुन्, देउजा । देउजाका कार्यालयकै साथी शंकर न्यौपानले क्यासिनोमा पैसा हारेर नै उनले आत्माहत्या गर्न खोजेको भन्ने आफूलाई पत्यार नलाग्ने बताए । 'कहिलेकाहीं सँगै बसेर पिउने, तास खेल्ने गरिन्थ्यो,' उनले भने, 'क्यासिनो नै गएको मलाई थाहा छैन ।' क्यासिनो लतले कपनस्थित देउजाको घर नै क्यासिनोमा हारेको बताइएपनि कुनै पनि बंैकमा उनको नाममा ऋण नभएको न्यौपानेले बताए । 'खुल्दुली लागेर हेर्दा घर राखेर ऋण लिएको देखिएन,' न्यौपानेले भने ।

उनका अर्का साथी तथा हास्य कलाकार शिवहरि पौडेलले समेत क्यासिनो जाने कुरा आफूलाई थाहा नभएको बताए । 'म आत्माहत्या गर्दैछु' भनेर देउजाले आफ्ना सहयोगी गोबर्द्धनलाई मोबाइलमा म्यासेज समेत पठाएका थिए । त्यसैले उनलाई कसैले विष खुवाएको नभई आफैं खाएको देखिन्छ ।

देउजा निर्देशित सिनेमा 'मुनामदन' काठमाडौं प्रदर्शन भईरहेको छ, जसले व्यापार समेत राम्रै गरेको थियो । उनले 'हिफाजत', 'छविलाल कन्जुस छैन', 'दागबत्ती' लगायतका चलचित्र निर्देशन गरेका छन् । उनका श्रीमति, एक छोरा तथा एक छोरी छन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

नाम:
इमेल:
प्रतिक्रिया:
कोड: verification image, type it in the box