Share |

सेलिब्रेटीका 'साइड जब'

काठमाडौं । आइतबार साँझ नायिका सिम्पल खनाल नागपोखरीस्थित 'क्याट्स लेडिज वेयर'मा ग्राहकलाई विभिन्न स्टाइलका पहिरन देखाइरहेकी थिइन् । कपडाको विशेषता, अहिलेको फेसन ट्रेन्डबारे उनले लामै भनाइ छाँछिन् । तर यो उनी अभिनित कुनै सिनेमाको दृश्य थिएन । यो त उनैले खोलेको पसलको दृश्य हो ।

आफ्नो सोख पूरा गर्न पसल खोलेकी रे उनले । 'माझी दाइ' चलचित्रबाट रजतपटमा उदाएकी सिम्पल जीवनमा धेरै कुराको प्रयोग गरेर हेर्ने आफ्नो सोखले यो पसल खोल्न प्रेरित गरेको बताउँछिन् । भन्छिन्, 'मलाई जे पनि नयाँ-नयाँ प्रयोग गर्न मन पर्छ ।' क्रुज, डाटाबेस कम्पनीमा समेत काम गरेर अनुभव बटुलेकी सिम्पल यही पसलमा बुटिक समेत खोल्ने ध्याउन्नमा छिन् । अनि 'अध्याय' नामक सिनेमामा अभिनय गर्नु त छँदै छ । व्यवसायले आफूलाई थप परिपक्व बनएको सिम्पलको बुझाइ छ ।
सिम्पल भविष्यमा आफू अभिनेत्रीभन्दा पनि महिला उद्यमी तथा व्यवसायी भनेर आफूलाई चिनाउन चाहन्छिन् । 'सधैंभरी अभिनय मात्रै गरेर पनि भएन,' खनालको भनाइ छ, 'आफ्नो साइड काम त गर्नैपर्‍यो नि ।'

नायिका नम्रता श्रेष्ठकै कुरा गरौं । रेष्टुराँमा अर्डर गर्दा सुन्दर नायिकाले परिकार टक्र्याइन भने छक्क नपर्नोस् । उनी अभिनयको अलवा लाजिम्पाटस्थित आटिक रेष्टुराँमा परिकारको स्वाद समेत चखाउँछिन् । अर्थात् अभिनेत्री नम्रताको अर्को परिचय हो, रेष्टुराँ सञ्चालिका । नम्रता र उनका साथी तथा अभिनेता कर्मले साझेदारीमा यो रेष्टुराँ चलाएका हुन् । नम्रताको एक छात्रा होस्टलमा समेत लगानी रहेको छ ।

व्यापारिक पृष्ठभूमिका अभिभावक भएकैले आफूमा कलाकारितासँगै व्यवसायीको गुण समेत सरेको हुनसक्ने कर्मको भनाइ छ । रेष्टुराँ व्यवसायसँगै उनी जैविक खेतीको तयारीमा समेत लागेका छन्, कर्म । 'लुट', 'हाइवे' जस्ता चलचित्रमा अभिनय गरिसकेका कर्मले आफू पैसाका लागि भन्दा पनि अभिनयकै पाटोलाई उर्जा दिन व्यवसाय समेत गरेको बताउँछन् । व्यवसाय र कलाकारिता फरक भएको ठान्ने उनी कलाकार भएँ भन्दैमा अरु काम गर्नै हुन्न भन्ने धारणासँग सहमत छैनन् ।

पोष्टप्रोडक्सनमा रहेको 'गुडबाई काठमाण्डु'की नायिका तथा पूर्व मिस नेपाल माल्भिका सुब्बाको परिचय अहिले उद्योगीको रुपमा फेरिएको छ । राम्रा स्त्रिmप्ट पाउन छोडेपछि अभिनयबाट बाहिर पुगेको बताउने माल्भिका अहिले एउटा गार्मेन्ट उद्योग सञ्चालन गर्छिन् र त्यसैको आउटलेट तयारमा व्यस्त हुन्छिन् । उनले केही समय हाउजिङ कम्पनीमा काम समेत गरेकी थिइन् ।
अझ विवाहपछि त उनको व्यावसायिक क्षेत्र फैलिएको छ । उनको श्रीमान रियाज श्रेष्ठको एउटा आइटी कम्पनी र साल्सा एकेडेमी छ ।

अर्की अभिनेत्री करिष्मा मानन्धरले गोदावरीस्थित आफ्नै निवासमा केबी स्टुडियो सञ्चालन गरिहेकी छिन् । उनका पति विनोद मानन्धरको लण्डनमा व्यापार समेत छ । नायिका सिर्जना बस्नेत र अनुष्का ढकालले केही समय बौद्धमा व्युटीपार्लर चलाएर अहिले बन्द गरिसकेका छन् ।






तपाइको प्रतिक्रिया दिनुहोस्

नाम:
इमेल:
प्रतिक्रिया:
कोड: verification image, type it in the box