घुम्ने बानी बस्यो रेजिनालाई
उनी र प्रदीप बम्बजन युरोपस्थित गैरआवासीय नेपालीले आयोजना गरेको युरोप डान्स कम्पीटिसनको जज बनेर युरोप पुगेका हुन् । कार्यक्रम सकिएपछि रेजिना बेल्जियम, जर्मनी, नेदरल्याण्ड, फ्रान्स लगायतका देशमा आयोजित स्टेज कार्यत्रममा सहभागी भइन् । युरोपस्थित गैरआवासीय नेपालीहरुले नेपाली कलालाई ठूलो सम्मान गर्ने गरेकेा समेत उनको अनुभव छ । त्यही भएर नेपाली फिल्मलाई युरोपका विभिन्न ठाउँमा नियमित प्रदर्शन गर्ने वातावरण बनाउन आफूले आग्रह गरेको समेत रेजिनाले बताइन् । 'उहाँहरु यसप्रति निकै सकारात्मक हुनुहुन्छ,' उनले भनिन् । यसअघि उनी लन्डन र स्कटल्याण्ड छोटो अवधिको लागि पुगेकी थिइन् ।
दुई महिनाको यात्राले आफ्नो फिल्म 'वरदान'को रिलिज डेटमा भने अफ्ठेरो परेको उनको भनाइ छ । प्रमिला श्रेष्ठसँगको संयुक्त लगानीमा बनाएको 'वरदान'को रिलिज डेट फिक्स गर्न आफूलाई निकै आतुरी परेको रेजिनाको भनाइ छ । केही फिल्मबाट अभिनयको लागि प्रस्ताव आएपनि 'वरदान'को समस्या सल्टाएपछि मात्रै नयाँ प्रोजेक्ट गर्ने उनले बताएकी छिन् । कुमार विष्टको फिल्म खेल्ने संभावना बढी रहेको समेत उनले खुलासा गरिन् । 'समय मिलेर कथावस्तु मन पर्यो भने उहाँको फिल्म गर्छु,' रेजिनाले भनिन् ।




