विशुद्ध प्रेम 'सो सिम्पल'
शिव रेग्मीले निर्देशन गरेको यो फिल्म अहिले धुलिखेलमा छायाँकन भईरहेको छ । रेग्मीले निर्देशन गरेको पछिल्लो पटक प्रदर्शनमा आएको फिल्म 'फूल' लगभग फ्लप जस्तै भएपछि 'सो सिम्पल' राम्रो बनाउनुपर्ने दबाब उनीमाथि परेको छ ।
तर अहिलेसम्म बनेका प्रेम कथानक नेपाली फिल्मभन्दा बिल्कुल फरक धारमा 'सो सिम्पल' बन्न लागेकोले फिल्मलाई दर्शकले मन पराउने दाबी पटकथा लेखक प्रदीप भारद्धाजले गरे । 'फिल्मको कथा अहिलेसम्म कसैले ठम्याउन सकेको छैन,' उनले भने, 'कुनै फिल्म, कथाबाट समेत यो प्रेरित छैन । मौलिक कथावस्तु भएकोले सबैका लागि नयाँ स्वाद हुने छ ।'
सिनेमाले नेपालका ८० प्रतिशत युवाहरुको प्रेमको अवस्थालाई चित्रण गर्ने पनि भारद्धाजले बताएका छन् । उनले यसअघि 'आइएम सरी' जस्तो व्यवसायिक रुपमा सफल मानिएको फिल्मको पटकथा समेत लेखिसकेका छन् ।
फिल्ममा राजबल्लभ कोइराला, भावना रेग्मी, प्रमोद भारद्धाज, केशव भट्टराई, सुशील पोखरेल लगायतका कलाकारले अभिनय गर्नेछन् । फिल्म ६० लाखमा बन्न लागेको हो । धुलिखेल र काठमाडौं आसपासमै फिल्मको सुटिङ सकाइने छ ।




