नरेशलाई कलाकार छान्न धौधौ
पाँच दर्जनभन्दा बढी कलाकारसँग कुरा गर्दा पनि निष्कर्षमा पुग्न नसकिएको उनले बताएका छन् । 'कलाकारको डेट र रेट मिल्नुपर्यो,' नरेशले भने, 'उनीहरुको नाम मात्रै चलेर भएन फिल्म पनि चल्नुपर्यो ।'
'स्विट ड्रिम्स' अत्याधुनिक सहरी परिवेशमा हुर्किएका प्रेम जोडीहरुको आकांक्षा बताउने फिल्म भएको नरेशको भनाई छ । यो चलचित्रमा दुई जोडी कलेज विद्यार्थीका सपना समय परिस्थितिले कुन मोडमा पुग्छ भन्ने देखाइने छ । 'सबैले राम्रै गरुँ भन्ने सपना बोकेका हुन्छन् तर कसैको परिस्थिति अनुकूल हुन्छ कसैको हुँदैन । यही कुरा फिल्ममा देखाउँछु,' उनी भन्छन् ।
एउटा प्रेम जोडीको सपना पूरा हुने र अर्कोको नहुने तुलनात्मक दृश्य फिल्ममा हेर्न सकिने छ । 'तर कलाकार छान्नै समय लागेर आफ्नै सपना पो तुहिने हो कि !' ठट्यौली गर्दै उनले भने । भदौको दोस्रो हप्तादेखि फिल्मको सुटिङ थालिने पौड्यालको योजना छ । ४५ देखि ५० लाखको लगानीमा निर्माण हुन लागिरहेको 'स्विट ड्रिम्स' उनको दशौं फिल्म हो ।




