Share |

काम भन्दा गफै बढी

काठमाडौं । पाँच वर्ष भन्दा बढी भयो निर्माता युवराज लामाले चलचित्र निर्माण गर्न छाडेको । तर, चलचित्र नबनाए पनि उनको ब्यस्तता भने घटेको छैन । अहिले उनले चलचित्र त निर्माण गरेका छैनन् तर चलचित्र राजनीतिको कुरा भने निकै चर्को स्वरमा गर्छन् उनी । चर्को स्वरमा चलचित्रको कुरा गर्नुबारे उनको आफ्नै तर्क छ, 'काम नगरे पनि आफुले अपनाएको पेशालाई मर्यादित बनाउन मैले चर्को स्वरमा कुरा गर्नैपर्छ ।' लामा प्रष्टयाउछन् । पछिल्लो समय केही ब्यक्तिले नेपाली चलचित्र बिरोधी कुरा गर्न थालेकाले पनि आफुले चर्को स्वरमा बोल्नु परेको दाबी लामा गर्छन् ।



अशोक शर्मा लामाकै पथमा लागेर गफ दिदै हिंड्ने अर्का निर्माता हुन् । शर्माले पनि चलचित्र निर्माण नगरेको झण्डै आधा दशक बितिसकेको छ । एकताका नेपाली चलचित्रको पक्षमा निकै चर्को स्वरमा कुरा गर्ने शर्माको पनि अचेलको दैनिकी राजनीतिक भाषणमै सिमित हुन पुगेको छ । उनी त सिधै भन्छन, 'ब्यापारको लागि अहिलेको सिजन राम्रो छैन । त्यही भएर मैले अचेल चलचित्र निर्माण नगरेको हुँ ।' नेपाली चलचित्र उद्योगका हस्तिको रुपमा मानीएका लामा, शर्माहरु नै यसरी सुस्ताएपछि के होला नेपाली चलचित्र जगतको हालत ? यसबारेमा अर्का निर्देशक नबीन सुब्बा,'फर्मुला चलचित्र नबनेर उद्योगलाई केही घाटा पर्दैन ।' भन्छन् । अहिलेसम्म एउटा मात्रै सेल्युल्वाइड चलचित्र बनाएका सुब्बा पनि चर्का गफ दिनमा अगाडि नै आउँछन् । उनले पनि चलचित्र नबनाएको ५ वर्ष बितीसकेको छ । तर, रवाफ भने कम छैन उनको । यतिका समय बित्दा समेत अर्को चलचित्र नबनाउनुको कारणवारे उनको पनि आफ्नै तर्क छ । भन्छन् 'मलाई स्क्रिप्टमा समय लाग्छ ।'


सुब्बा झै अर्का निर्देशक तीर्थ थापाले पनि चलचित्र निर्देशन नगरेको आधा दशक नाघीसकेको छ । उनी पनि अहिले सांस्कृतिक संघको राजनीतिमा रुमलीएका छन् । त्यस्तै अर्का निर्देशक नीलहरि काफ्लेको लागि त 'चाहन्छु म तिमीलाई नै' अहिलेसम्म कै पहिलो तथा अन्तिम चलचित्र बन्न पुगेको छ । झण्डै दशक नाध्न लाग्यो उनले चलचित्र निर्देशन नगरेको । र, पनि नेपाली चलचित्रको बारेमा उनले जत्तिको सायदै अरु कसैले गफ गर्न सक्ला । तर पनि उनी अहिले चलचित्र निर्देशक समाज मार्फत नेपाली चलचित्रको बिकास, प्रवर्द्धन तथा अन्तरराष्ट्रिय बजारको खोजीको बारेमा कुर्लन थालेका छन् । तर, अर्को चलचित्र निर्देशन गर्नेपट्टी चाहिँ उनको कुनै नयाँ सम्भावना अहिलेसम्म देखिएको छैन ।



यि 'दिग्गज'को खबर बुझदा, अहोरात्र गफै मात्र जोतेर नेता बन्न चाहनेहरुका लागि भने नेपाली चलचित्र उद्योग साँच्चै नै एउटा गतिलो 'प्लेटर्फम' बन्न पुगेको छ अहिले । यो क्षेत्रसँग आबद्ध दर्जन भन्दा बढी संघसंस्थाहरु छन् । यो क्षेत्रमा प्रवेश गरेपछि दुई तीन वर्ष भित्रमा एउटा न एउटा संस्थाको अध्यक्ष बन्न गाह्रो पर्दैन । त्यसकारण पनि नेतागिरीमा रुची राख्नेहरु यस क्षेत्रमा लाग्ने गरेको पाउन थालीएको छ । चलचित्रलाई भर्याङ बनाएर राजनीतिको धुरी चढ्न खोज्नेहरुको लागि यो क्षेत्र क्षणिक रुपमा लाभदायक भए तापनि यसले दीर्घकालीन रुपमा कस्तो असर पार्ला भन्ने कुराको अग्रीम हेक्का राखेर गफ भन्दा चलचित्र निर्माणतिरै बढी जोड दिएमा त्यसले बरु समग्र चलचित्र उद्योगलाई राहत पुर्याउला की । यस बारेमा अलिकत मात्रै भए पनि 'फिल्म टाइकुन' हरुले सोचिदिन्छन् की ?


-ध्रुब लम्साल/फिल्मनेपाल


तपाइको प्रतिक्रिया दिनुहोस्

नाम:
इमेल:
प्रतिक्रिया:
कोड: verification image, type it in the box