कुरा 'कलिउड' डाँडाका
चोभार क्षेत्र द्वन्द्व दृश्यको लागि मात्र होइन, बेलाबेलामा गीत छायांकन गर्न पनि प्रयोग गरिंदै आएको छ । चोभार अब चलचित्रको पर्यावाची नाम नै बनिसकेको छ । नेपाली चलचित्र हेर्ने दर्शकका लागि पनि अब यो कुनै नयाँ नाम रहेन ।
चोभार नै त्यस्तो ठाउँ होला जसलाई नेपाली सिनेमाले आˆनो क्यामरामा कयौं पटक कैद गरिसकेको छ । यो एउटा सजिलो सुटिङ्ग स्पट बन्दै गएको छ, नेपाली सिनेकर्मीहरुका लागि । नबनोस् पनि किन, उपत्यकाबाट धेरै नजिक, खोजेजस्तै स्थान, खर्च पनि कम । बाटोघाटो, पहाड, पहरा, पार्क, चौर, पोखरी, गल्छी, गुफा, गुम्बा के छैन चोभारमा । अझ हिमाल सिमेन्टको भग्नावशेषले थप उर्जा दिने काम गरेको छ द्वन्द्व दृश्य खिच्नेहरुलाईं ।
सिनेमाको मात्र के कुरा, म्युजिक भिडियो बनाउनेका लागि पनि आकर्षक थलो बनेको छ चोभार क्षेत्र । के दोहोरी, के आधुनिक, पप होस् वा रक सबैमा देख्न पाईन्छ चोभार क्षेत्र ।
"हैन यी सिनेमा खिच्नेले चोभार बाहेक अरु ठाउँ त देखेका नै छैनन् की क्या हो" भनेर सिनेकर्मीहरुलाई आरोप लगाउने जमात पनि नभएका होइनन् । हुन पनि साधै एउटै दृश्य घरिघरि देख्नुपर्दा दिक्क लागेर पनि होला ।
तर जति नै कुरा गरेपनि चोभारको भौगोलिक संरचनालाई बेवास्ता गर्ने ठाउँ पक्कै पनि छैन । सिनेकर्मीको चोभारप्रतिको मोहलाई स्वभाविक नै मान्नु पर्दछ । उनीहरुले चोभारलाई एउटा खुल्ला स्टुडियोको रुपमा प्रयोग गरेका छन् भन्दा अत्युक्ति नहोला । अझ भन्ने हो भने, यसलाई फिल्म स्टुडियो कै रुपमा विकसित गर्न सकिने संभावनाका रुपमा पनि लिन सकिन्छ ।
जसरी हलिउडको डाँडामा ठूलो अक्षरमा 'हलिउड' लेखिएको छ, त्यसैगरि चोभारको डाँडामा पनि कुनै दिन 'कलिउड' लेख्ने बेला नआउला भन्न सकिन्न ।




